Tuesday, May 27, 2025

महान् सांस्कृतिक सहिद कृष्णसेन 'इच्छुक' को २३ औँ स्मृति तथा सांस्कृतिक वलिदान दिवस कार्यक्रम सम्पन्न

 काठमाडौँ, 

जनसांस्कृतिक महासङ्घ  नेपाल केन्द्रीय समितिले वि. सं.  २०८२ साल जेठ १३ गते महान् सांस्कृतिक सहिद  कृष्णसेन 'इच्छुक' को २३ औँ स्मृति तथा सांस्कृतिक वलिदान दिवस कार्यक्रम सम्पन्न गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )का केन्द्रीय सदस्य एवम्  साहित्य ,कला तथा संस्कृति विभाग प्रमुख  महेश्वर दाहालको प्रमुख आतिथ्यमा महान् सांस्कृतिक सहिद कृष्णसेन 'इच्छुक' को २३ औँ स्मृति तथा सांस्कृतिक वलिदान दिवसको आयोजना पेरिसडाँडामा गरेको हो। कार्यक्रमको आरम्भमा एक मिनेट सहिद प्रति मौन धारण गर्दै  इच्छुकको तस्बिरमा माल्यार्पण गरेपछि कार्यक्रम सुरु  गरिएको हो । प्रमुख अतिथि दाहालले उहाँसँग काम गर्ने अवसर पाएका कारणले पनि उहाँको व्यक्तित्व, विचार र नेतृत्व शैली मेरो स्मृतिमा अझै गहिरो रूपमा बसेको बताए ।

 ‘कृष्ण सेन भन्ने बित्तिकै एक जना क्रान्तिकारी कवि, एक जना समर्पित पत्रकारको रूपमा सम्झना आउँछ’ भन्दै दाहालले ‘साँच्चै भन्नुपर्दा जनताको पक्षमा कलम चलाउने साहसी योद्धा, नामभन्दा पनि विचार भएको’ बताए ।

कार्यक्रमका अतिथि  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )का केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासङ्घ, नेपालका पूर्व अध्यक्ष   मातृका पोखरेलले इच्छुकको  वैचारिक  प्रतिबद्धता र  कवि व्यक्तित्वको चित्रण गरे । 

कार्यक्रममा इच्छुकद्वारा रचित प्रसिद्ध कविता ''प्रतिबन्ध''लाई  जनवादी कला कार झङ्कार बुढा,केसरी घर्ती मगर एलिना ,विश्व दोङ,दिपक राई,पुजा श्रेष्ठ,सुशील सिंह ठकुरी  र धनु ग्याङ्मीले सामूहिक रूपमा गाउनु भएको थियोे ।यसैगरी प्रगतिवादी कविहरू चेतनाथ धमला,बम बानिया,मिथोच र उत्तम लिम्बूले कृष्ण सेन इच्छुक रचित कविता वाचन गर्नुभयो । 

  जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष भीम कुमाखीले कार्यक्रमको समापनका क्रममा महान् सांस्कृतिक सहिद  इच्छुकको क्रान्तिकारी चिन्तन ,साहित्यिक व्यक्तित्व,आदर्श र प्रेरणा भावी पुस्तासम्म  पुर्याउने गरी प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।उद्घोषण गर्दै महासङ्घका महासचिव केशव सिलवालले इच्छुक निरङ्कुशता विरुद्धका योद्धा कवि तथा पत्रकार रहेको बताउनुभयो।  जनदिशा दैनिकको प्रधान सम्पादक भएका बखत  तत्कालीन राज्य सत्ताको निर्देशनमा प्रहरीले पक्राउ गरी  कृष्ण सेनलाई  २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमै चरम यातना दिएर हत्या गरेको हो ।  इच्छुकका शोकाञ्जली, इतिहासको यस घडीमा,बन्दी र चन्द्रागिरी जस्ता काव्यकृति प्रकाशित रहेका छन् । कलम साहित्यिक त्रैमासिक, जनादेश साप्ताहिक, जनदिशा दैनिक, योजना लगायतका पत्रपत्रिकामा सम्पादक रहेका उनले साहित्य सन्ध्या (२०५७), पारिजात सिर्जनपुरस्कार (२०५९),कृष्णमणि साहित्य पुरस्कार (२०५९),प्रगतिशील साहित्य पुरस्कार (२०६१), मरणोपरान्त र प्रेस सेनानी पुरस्कार (२०६५) मरणोपरान्त प्राप्त गर्नुभएको हो। दाङ कारागार,भद्र बन्दीगृह सिराहा र राजविराजमा पटकपटक जेलजीवन बिताएका इच्छुकको सहादतपछि पनि कृष्ण सेन 'इच्छुक' स्मृति ग्रन्थ, इच्छुक रचनावली भाग १-३, कवि इच्छुक कविताका सन्दर्भमा 'आस्था र निष्ठाका सतिसाल इच्छुक'जस्ता कृति प्रकाशित  भएका छन् ।

000


















































Thursday, February 13, 2025

पूर्व अध्यक्षहरूको सम्मान तथा 'कुइख्याङ’ कवितासङ्ग्रहको लाेकार्पण



जनसांस्कृतिक महासङ्घ, नेपालले जनसांस्कृतिक महासङ्घ, नेपालको ४३ औं स्थापना दिवस तथा ३० औं जनयुद्ध दिवसको अवसरमा २०८१ फागुन १ गते आफ्ना पूर्व अध्यक्षहरूको सम्मान, कृति लाेकार्पण तथा अन्तर्क्रिया गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी-केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री सत्य पहाडीले जनसांस्कृतिक महासङ्घका पूर्व अध्यक्षहरू : ईश्वरचन्द्र ज्ञवाली, गणेश भण्डारी, सरल सहयात्री र मातृका पोखरेल लगायतलाई सम्मान गरेका छन्।

आफ्नो सम्बोधनका क्रममा प्रमुख अतिथि पहाडीले पार्टी र सांस्कृतिक मोर्चा जोड्नुपर्ने धारणा प्रस्तुत गर्दै जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादको बाटोमा हिंड्न जनतालाई सङ्गठित गर्नुपर्ने बताए।

यसैगरी प्रमुख अतिथि पहाडी लगायतका अतिथिहरूबाट 'रोल्पा' जिल्लाका विषयवस्तुमा आधारित भइ रचिएको संयुक्त कवितासङ्ग्रह 'कुइख्याङ’ को एकसाथ लाेकार्पण भएको छ।

उक्त सङ्ग्रहमा एकाउन्न कविका एकाउन्न कविता सङ्गृहीत छ। प्रगतिवादी साहित्यकार पारिजात संस्थापक अध्यक्ष रहेर २०३८ सालमा जनसांस्कृतिक सङ्घको स्थापना भएको थियो। यसपछि शक्ति लम्साल (अध्यक्ष -२०४१), कृष्णसेन इच्छुक (अध्यक्ष -२०४६), मणि थापा (अध्यक्ष,२०६०) र डा. ऋषिराज बराल (संयोजक २०६१), निनु चापागाईं (अध्यक्ष : इन्द्रेणी सांस्कृतिक समाज र प्रगतिशील सांस्कृतिक समाज), ईश्वरचन्द्र ज्ञवाली (२०६३), गणेश भण्डारी (२०७३), सीता शर्मा (कार्यवाहक अध्यक्ष २०७३),सरल सहयात्री (२०७३) र मातृका पोखरेल (संयोजक २०६९, अध्यक्ष २०७८) रहेका थिए।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य,जनसांस्कृतिक महासङ्घका इन्चार्ज तथा पूर्व अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले जनयुद्धको समयमा सांस्कृतिक प्लाटुन निर्माण गरी सांस्कृतिक अभियान सञ्चालन गरेको इतिहास सम्झिंद् समाजवादी संस्कृतिको बाटोमा अग्रसर हुन जोड दिए।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्व अध्यक्ष मातृकाप्रसाद पोखरेलले पारिजात अध्यक्ष हुँदा सङ्गठन छाडेर जाने व्यक्तिबारे वैचारिक प्रतिवाद गरेको इतिहासको उजागर गर्दै सांस्कृतिक विचलनलाई गम्भीर समस्याका रूपमा चित्रण गरे।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका अध्यक्ष तथा महासङ्घका पूर्व अध्यक्ष सरल सहयात्रीले सांस्कृतिक आन्दोलन फराकिलो बनाउन विद्यालय, विभिन्न उत्पादन र श्रमका क्षेत्रसम्म विस्तार गर्नुपर्ने बताए।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सदस्य तथा महासङ्घका पूर्व अध्यक्ष गणेश भण्डारीले समाजवादी संस्कृति निर्माणका लागि जनताका घरदैलोमा पुगेर सामूहिक संस्कृतिको आदर्शलाई स्थापित गर्नुपर्ने बताए।

उक्त कार्यक्रम जनसांस्कृतिक महासङ्घ, नेपालका केन्द्रीय अध्यक्ष भीम कुमाखीको अध्यक्षतामा भएको हो। कुमाखीले कार्यक्रम समापन भएको घोषणा गर्दै अब समाजवादी संस्कृति निर्माणमा एकजुट भएर लाग्नुपर्ने बताउँदै पूर्व अध्यक्षहरूको सम्मान भनेको इतिहासको सम्मान रहेको बताए।

महासङ्घका सचिवालय सदस्य तथा अखिल नेपाल लेखक सङ्घका केन्द्रीय अध्यक्ष स्वप्निल स्मृतिले कवितासङ्ग्रह कुइख्याङ’ को चिरफार गर्दै कविताले रोल्पा जिल्लाको यथार्थ तस्बिर उतारेको बताए।

प्राज्ञ चेतनाथ धमलाकाे अनुसार महासङ्घका केन्द्रीय उपाध्यक्ष डम्बर रोकायाले कार्यक्रममा स्वागत मन्तव्य राख्दै अग्रजहरूको सम्मान गर्नु नै इतिहास सम्झेकाे बताए। महासङ्घका केन्द्रीय महासचिव केशव सिलवालले कार्यक्रम चलाउँदै महासङ्घको इतिहास, योगदान र सम्मानित व्यक्तित्वबारे प्रकाश पारेका थिए।

कार्यक्रमको प्रारम्भमा पेरिसडाँडामा रहेक‍ो सहिद तथा बेपत्ता योद्धा स्मृति स्तम्भमा अबिर तथा माला अर्पण गरिएकाे थियाे। जनसांस्कृतिक महासङ्घ, नेपालको स्थापना तथा ३० औँ जनयुद्ध दिवसका अवसरमा अखिल नेपाल ललितकला सङ्घले माघ २६ गते सञ्चालन गरेको ललितकला कार्यशालाबाट सृजित चित्रकलाको प्रदर्शनी गरिएको हो। ती चित्र जनसांस्कृतिक महासङ्घ, नेपालको अक्षयकोष निर्माणका लागि बेच्न राखिएको छ। 

https://nagariknews.nagariknetwork.com बाट साभार 

OOO